म मार्गेश्वरी प्राथमिक विद्यालयको कक्षा पाँचमा पढ्दाको कुरा हो। म र मेरो साथी मनोज (अहिले आर्मीमा छ र हाम्रो नाम पनि एउटै हो), अनि लोकेन्द्र, चन्द्र र रोशन एउटै बेन्चमा बस्थ्यौं। हाम्रो दोस्रो बेन्च भएकोले सधैं सोमबार कक्षा कोठा बढार्नुपर्ने हुन्थ्यो।
माटोको स्कुल, धुलो त कति कति! कहिलेकाहीँ बढार्न नै अल्छी लाग्थ्यो। तर के गर्ने, गर्नैपर्ने।
सधैंझैं सोमबार आयो। के गर्ने, बढार्नै पर्यो। जहिले पनि म र मनोजले नै धेरै बढार्नुपर्थ्यो, अझ म धेरै। त्यो दिन त झन् धेरै अल्छी लाग्यो। “आज त अरूले नै बढारून्” भनेर म स्कुल जान ढिलो गरेँ। दुईटी बहिनीलाई पठाएँ र आफैं चाहिँ मकैबारीमा लुकेर बसेँ। त्यसपछि झुमुनी खोलाको ढुङ्गाको च्यापमा लुकें।
साथीहरू राष्ट्रिय गान गाएर कक्षागत गीत गाउन थाले। तब म त्यहाँबाट निस्किएँ र ढिलो भएको जस्तो गरेर हतारिँदै स्कुलतिर दौडिन थालेँ। म मात्र होइन, मेरो साथी मनोज पनि मेरो जस्तै नाटक गरिरहेको रहेछ। भेटेर खुसी लाग्यो।
त्यसपछि नयाँ नाटक पनि रच्यौं “मेरो घरमा पूजा छ, हामी दुबै मार्गस्थान गएका थियौं, त्यसैले ढिलो भयो” भनेर बहाना बनाउने।
स्कुल पुग्दा रोजी र मीनाले बढारिसकेका रहेछन्। उनीहरूले राम्रै काम गरेका थिए। धन्न उनीहरूले बढारिदिएका थिए, नत्र श्रवणलाल सरको ‘गोरु कुटाइ’को पात्र बन्नुपर्थ्यो।
तर धुलो उठाएर फाल्ने काम बाँकी नै थियो। केटीहरू कराउन थाले,
“किन ढिलो आएको? अल्छेहरू! केटाहरू केटीको काम गर्न सक्दैनन्।”
हामीले आफ्नो नयाँ नाटकको कथा सुनायौं। उनीहरूले एक जनाले धुलो उठाउने र अर्कोले फाल्ने सुझाव दिए।
धुलो फाल्न टाढा जानुपर्थ्यो, त्यसैले उठाउने काम सजिलो लाग्यो। दुबै जना “म उठाउँछु”, “तिमी फाल” भनेर खोसाखोस गर्न थाल्यौं।
त्यो धुलो उठाउने सामान पनि खास थियो । म मोनिटर भएकाले, स्कुल नआउनेबाट ५० पैसा र टिफिनमा भाग्नेबाट १ रुपैयाँ उठाएर बिहीबारे हाटमा १६ रुपैयाँमा किनेको।
त्यही तछाडमछाडमा त्यो सामान टुक्रियो। सत्यनाश! धन्न कसैले देखेन।
अब के गर्ने? श्रवणलाल सरले देखे भने मारिहाल्थे।
दुबै जना मिलेर धुलो उठायौं र फाल्न गयौं। अनि त्यसलाई जोडेर राख्ने योजना बनायौं। प्लास्टिकको सामान भएकाले राम्रैसँग जोडियो।
त्यसलाई साथीहरू ओहोरदोहोर गर्ने बाटोमै बिस्तारै राख्यौं। कसैले छोइहाल्ला कि भन्ने डर लागिरहेको थियो, तर कसैले छोएन।
पछि हाम्रो साथी जयप्रसाद र कक्षा चारका दिनेश आइपुगे। उनीहरू हिँड्दै आउँदा त्यो सामानमा ठोक्किए। समाउने डाँडी भाँचियो।
त्यही मौका पारेर मनोज र मैले “भाँच्यो! भाँच्यो!” भन्दै कराउन थाल्यौं । केटीहरुले सुने अनि देखे । त्यसपछि त के चाहियो ? तिमीहरु किन यहाँ चल्न आएको ? किन यो फोहोर उठाउने भाँचेको भन्दै कराउन थाले ।
त्यसै बेला श्रवणलाल सर आइपुग्नुभयो। केटीहरूले सबै कुरा भनिहाले।
अब के चाहियो र? दुबै जनाले मोट्ठा लौरोले राम्रै ‘गोरु कुटाइ’ खायौं। हाम्रो हाँसो एकाएक हरायो।
योजना असफल भएको भए हामी नै त्यो कुटाइ खाने थियौं। तर योजना सफल भएपछि पनि हाँसो रोक्न सकिएन। कक्षामा बसुन्जेल मुखमा रुमाल कोचेर हाँसिरह्यौं।
अन्त्यमा “घरमा पूजा छ” भनेर ढाँटेर छिट्टै घर फर्कियौं।